Nepali News (नेपाली)Sports

२४ औं संस्करणको ‘आदर्श कप’ भण्डारढिकमा

२४ औं संस्करणको ‘आदर्श कप’ भण्डारढिकमा

भदौ ८, पोखरा – १२ वर्ष पछि खोला पनि फर्किन्छ भने जस्तै कास्कीको लेखनाथ भण्डारढिकमा करिव सातवर्षपछि फेरी फुटबलको माहोल सृजना हुदैंछ । २०६७ सालपछि सुनसान बनेको लेखनाथ रंगशालामा यही भदौ २० गतेदेखि फेरी पुरानै लयमा फर्किदै दर्शकको हुटिङ र सांगीतिक माहोल संगै २४ औं संस्करणको आदर्श कप हुने भएको छ।२३ औं संस्करण टुङ्याएर मैदान एवं प्यारापिट निर्माणमा जुटेको आदर्श क्लबले भौतिक पुर्वाधार तयार पारेपछि पहिलो संस्करणको रुपमा फुटबललाई उदय गराउँदै छ । २४ औं संस्करणलाई अम्बे सिमेन्ट प्रालिको रिद्धिसिद्धी सिमेन्टले प्रतियोगिताको टाईटल प्रायोजन गरेको छ । जुन सिमेन्ट उत्पादनको तयारीमा रहेको छ । रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कप नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । क्लब र रिद्धिसिद्धी सिमेन्ट बीच शुक्रबार नै सम्झौतापत्रमा हस्ताक्षर समेत गरिएको थियो । सम्झौता केवल एक वर्षको लागि मात्रै हुने जनाइएको छ । क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी र रिद्धिसिद्धी सिमेन्टका गण्डकी धौलागिरीका एरिया सेल्स म्यानेजर पवनराज बरालले संयुक्त हस्ताक्षर गरेका हुन् ।

‘रिद्धिसिद्धी मार्फत फेरी फुटबल प्रतियोगितालाई उदय गराउँदै छौं ।’ आदर्श क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा भने–‘लामो समयको विश्रामपछि आयोजना गरिएको फुटबललाई सबैको साथ र सहयोग मिल्ने आशा र विश्वास छ ।’ विगतको वर्ष झैं आदर्श क्लबले महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्दै छ ।आठदिने प्रतियोगितामा आठ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । आयोजक आदर्श क्लब संगै कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहुं फुटबल संघ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ । हालसम्म कै सर्वाधिक पुरस्कार राशी तोकेको क्लवले विजेता लाई नगद रु ३ लाख, ट्रफी सिल्ड र मेडल र उपविजेतालाई नगद रु २ लाख ट्रफी सिल्ड र मेडल दिने बताईएको छ।

उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैया पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए । प्रतियोगिताको प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् ।

प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ । दोस्रो पुरस्कार राशी भने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बोलेका छन् । उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजन मनकामना प्लाई बोर्ड प्रालिले गरेको छ भने म्यान अफ दि म्याच खेलाडीको प्रायोजन भने त्रिमूर्ति ह्याचरी एण्ड बि एण्ड एस कन्स्ट्रक्सनका प्रोपाईटर सागर गुरुङले गरेका छन् ।

कार्यक्रममा रिद्धिसिद्धी सिमेन्ट गण्डकी धौलागिरी सेल्स म्यानेजर बरालले नारा नै बोण्डिङ विथ युथ भन्ने उल्लेख गर्दै फुटबल प्रतियोगिता लाई प्रायोजन गर्न पाउनु अवसरको रुपमा लिइएको पत्रकार सम्मेलनमा सुनाए । उनले सिमेन्टको उत्पादन नहुदैं रिद्धिसिद्धी सिमेन्टको नाममा प्रायोजन गरिएको भन्दै आगामी दिनमा सहकार्यलाई अझ प्रगाढ बनाउने सम्भावना रहेको स्पष्ट पारे । प्रतियोगितामा विभिन्न उपशीर्षकमा समेत विभिन्न संघसंस्थाले प्रायोजन गरेका छन् । रेफ्री, प्रचारप्रसार, खेलाडी खर्च लगायतमा विभिन्न संघसंस्थाले प्रायोजन गरेका छन्।

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: