संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै लेख्न सरकारलाई संसदीय समितिको निर्देशन – NEWS24 TV (Video)

संसदीय समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टामा नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टामा नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति शशी श्रेष्ठले मुलुकको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको स्पष्ट भएकाले उक्त कुरा सच्याएर नेपाल मात्रै राख्ने भन्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिनुभयो । समितिको उक्त निर्देशनमा नेकपाका सांसदहरू विजय सुब्बा र नवराज सिलवालले फरक मत राख्नुभएको थियो । समितिले मुलुकको नाम परिवर्तन गर्नुपर्ने भएमा संसद्मा प्रस्ताव ल्याउन पनि निर्देशन दिइएको समिति सभापति श्रेष्ठले बताउनुभयो । आज कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयपछि नेपाल मात्र लेख्न परिपत्र गरेको विषयमा आज समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरेको थियो । छलफलमा मन्त्री ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको भन्दै मन्त्रिपरिषद्को निर्णयको बचाऊ गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको नामसँग सम्बन्धित नभई नेपालको राज्य प्रणालीसँग भएकाले यो विषयमा धेरै बहस गर्न आवश्यक नभएको उहाँको दावी थियो । त्यस्तै, नेकपाका सांसदहरु विजय सुब्बा र नवराज सिलवालले पनि सरकारको निर्णयमा आफ्नो सहमति रहेको भन्दै कुनै निर्देशन दिन नपर्ने धारणा राखेका थिए । तर, नेकपाका सांसद पम्फा भुसाल, लालबाबु पण्डित तथा प्रतिपक्षिदलका केहि सांसदहरुले मुलुकको औपचारिक नाम ’नेपाल’ मात्रै राख्ने सरकारले निर्णय उपयुक्त नभएको बताएका थिए । यसअघि, विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरुमा समेत नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘फेडेरल डेमाक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरिएको थियो ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews